प्रधानमन्त्री ज्यू कसले खोज्यो नेकपा फुटाउन ? भनिदिनुपर्यो जनतालाई !



काठमाडौं फागुन, १–
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा फुट ल्याउने निकै प्रयास भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तर, आफूले त्यो सफल हुन नदिने दावी समेत गरे ।

बुधबार राजधानीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भएको बताए । उनले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश ओहो १ थामिसक्नु छैन ।’
बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्, फेरि भन्ने ।
बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ ।’

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको थियो । प्रधानमन्त्री ओलीले विगत केही दिनदेखि लगातार नेकपा फुटाउने र सरकार ढाल्नेबारे सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन् । तर, उनले मूर्त भाषामा कसले त्यो चाहिरहेको छ भनेर खुलाएका छैनन् । केवल सार्वजनिक खपतका लागि मात्रै बोल्नुको कुनै तुक देखिदैन । यद्यपि, भेनेजुएला प्रकरण र अर्का अध्यक्ष प्रचण्डको केही दिन अघि सार्वजनिक आक्रामक भाषण्ले नेकपा भित्रको असन्तुष्टि एक हदसम्म छताछुल्ल पनि भएको थियो । त्यसैलाई जोडेर प्रधानमन्त्री ओलीले संकेत गरेका पनि हुन सक्छन् । तर, प्रधानमन्त्री तथा सबैभन्दा ठुलो दलका मुख्य नेताले यति बोलिसकेपछि जनताले पनि जान्न चाहानु स्वाभाविकै हो ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  १० : ५३ बजे