भारतको जम्मु-काश्मिरमा भएको हमलाको जिम्मेवारी आतंकवादी समूह ‘जैश-ए-मोहम्मद’ले लियो ।



काठ्माण्डौ-
एजेन्सि-

भारतको जम्मु-काश्मिरको पुलवामा जिल्लामा बिहीबार भएको आत्मघाती आतंककारी हमलाको आतंकवादी समूह ‘जैश-ए-मोहम्मद’ले जिम्मेवारी लिएको छ। उक्त हमलामा परी भारतीय सिआरपिएफका ४० सुरक्षा जवानको मृत्यु भएको थियो ।  ‘जैश-ए-माेहम्मद’ समूहलाई भारतले पाकिस्तान राज्य समर्थित आतंककारी समूहको रुपमा व्याख्या गर्दै आएको छ।

‘जैश-ए-मोहम्मद’ त्यही संस्था हो जसका मुख्य व्यक्ति मौलाना मसुद अजहरलाई भारतले सन् २०१६ अप्रिलमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा आतंककारीको सूचीमा दर्ता गर्ने प्रयास गरेको थियो। भारतको यो प्रयासलाई सुरक्षा परिषद्‍को सदस्य समेत रहेको चीनले आफूमा निहित रहेको भिटो शक्ति प्रयोग गरी निश्फल पारिदिएको थियो।

सुरक्षा परिषद्‍मा रहेका ५ राष्ट्रसँग विशेष अधिकारका रुपमा भिटो शक्ति रहेको हुन्छ। परिषद्‍को कुनै पनि निर्णयमा कुनै एक देशले भिटो लगाएको अवस्थामा उक्त निर्णय पास नहुने राष्ट्रसंघ सुरक्षा परिषद्‍को व्यवस्था छ।

यस्तै सन् २०१६ सेप्टेम्बर १८ मा पनि सोही समूहले भारत प्रशासित जम्मु-काश्मिर राज्यमा पर्ने उरीमा आतंककारी हमला गरेको थियो। उरीमा रहेको सैन्य अखडामा गरिएको हमलामा परि करीब १८ भारतीय सैन्य जवानको मृत्यु भएको थियो।

यस समूहकाे गतिविधि भने जैशका प्रमुख मसूदकाे गिरप्तारीपछि सुरु भएकाे मानिन्छ। जैशका प्रमुख मसूदकाे गिरप्तारीपछि सन् १९९० डिसेम्बर २४ मा एक सय ८० यात्रु सवार एक भारतीय विमानकाे अपहरण गरिएकाे थियाे।

मसूदलाई सन् १९९४ मा काश्मिरमा सक्रिय चरमपन्थी संगठन ‘हरकत-उल-मुजाहिदिन’का सदस्य भएकाे आराेपमा भारतीय सुरक्षा अधिकारीहरुले श्रीनगरबाट पक्राउ गरेका थिए।

बिहीबार छुट्टि मनाएर आफ्नो काममा फर्किँदै गरेका ४० सैन्य जवान सवार एक बसमा आत्मघाती हमला भएको थियो। पुलवामा जिल्लामा भएको उक्त हमला स्कार्पियोमा सवार एक आत्मघाती हमलाकारीले गरेको जनाइएको छ। हमलाकारी सवार गाडीमा १ सय केजी विस्फाेटक प्रदार्थ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उता घटनाको जिम्मेवारी लिएको आतंककारी समूहले भने उक्त गाडीमा ३ सय ५० केजी विस्फोटक पदार्थ रहेको दाबी गरेका छन्। साे दाबीलाई भारतीय सुरक्षाकर्मीले भने नकारेका छन्।

‘जैश-ए-मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक विज्ञप्ति जारी गर्दै आदिल अहमदले आत्मघाती हमला गराएका हुन्। आदिल अहमद पुलवामा जिल्लाकै स्थायी बासिन्दा रहेकाे बताइएकाे छ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ६ : १७ बजे