५ केन्द्रीय सदस्य थपिए विवेकशील पार्टीमा, मिलन पाण्डे प्रवक्तामा नियुक्त



काठमाडौं फागुन, ३–
विवेकशील नेपाली पार्टीले ५ जना केन्द्रीय सदस्य थप गरेको छ । अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।
परियार बाँके, राम पर्सा, डंगोल मकवानपुर, वानु काठमाडौं र सुवेदी रुपन्देहीकी हुन् । छुट्टै दल दर्ता गर्न चाहिने न्यूनतम २१ जना केन्द्रीय सदस्य नपुगेपछि केन्द्रीय सदस्य थप गरिएको हो ।

विवेकशील पार्टीका अनुसार उनीहरुलाई समावेशितालाई ध्यानमा राख्दै केन्द्रीय सदस्य बनाइएको हो ।
दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने निर्णय भएको छ । त्यस्तै, मिलन पाण्डेलाई पार्टीले दलको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ६ : ५४ बजे