काठमाडौं फागुन, ५–
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिवि उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् । विद्यार्थी संगठनले आइतबार त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
अखिल र क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका हुन् । यस्तै, विज्ञप्तिमा मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ । त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेपनि कार्यतालिका घोषणा गरेको छैन ।
५ फाल्गुन २०७५, आइतबार
0
Shares