काठमाडौं फागुन, ५–
विवेकशील नेपाली पार्टीले चर्चित गायक पशुपति शर्माको गीत युट्युबबाट हटाउन लगाउनुलाई लोकतन्त्रमाथिको प्रहार भनेको छ।
आइतवार पार्टी प्रवक्ता मिलन पाण्डेले एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका हुन् ।
युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत विवेकशीलले सर्वधारणलाई अपिल गरेको छ। प्रवक्ता पाण्डेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्नसमेत आह्वान गर्दछौँ ।’
पार्टीले अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने पनि विवेकशील नेपालीले जनाएको छ । ‘पार्टी अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दछ। लोकतन्त्रको सुन्दरता नै यही होु, पाण्डेले भनेका छन् ।’ नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।’
विवेकशीलले संविधानभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको पनि उल्लेख गरेक छ । ‘गायक पशुपति शर्माको गीत ुलुट्न सके लुट कान्छाु सरकार र समर्थक दलनिकट व्यक्तिहरू तथा सङ्गठनहरूबाट दबाब दिई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको छ’ पाण्डेले लेखेका छन् ।
विवेकशीलले लोकतन्त्रका निम्ति सेल्फ सेन्सरसिप घातक हुने जनाएको छ । ‘झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरबारे ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ’ विवेकशीलले भनेको छ।