काठमाडौं फागुन, १२–
नेविसंघको प्रदर्शनका कारण नेपाली कांग्रेसको पार्टी कार्यालय, सानेपा परिसरमा तनाव उत्पन्न को छ । नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ ।
नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने बिषयमा दुबै पक्षबीच विवाद हुँदै आईरहेको छ ।दुबै पक्षका विद्यार्थीबीचको झडपमा स्थितिले उग्र रुप लिएपछि प्रहरीले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् ।हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।
संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी उपसभाति विमलेन्द्र निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद लाउने कि नलाउने भन्नेमा बिबाद बढ्दै गएको छ ।
आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिएका छन् ।
पार्टिका नेताहरुले पटक पटक नेविसंघका गतिबिधी प्रती अशन्तुष्टी जनाउदै आएका छन भने नेविसंघ आराजकता तर्फ अघाडी बढेको र यसले भबिष्यमा पार्टिलाई नै क्षति पुर्याउने चिन्ता ब्यक्त गरिरहेका छन ।
नेविसंघको कार्यालय गएको माघमा सकिएको छ । कार्यकालभित्र निर्वाचन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । काँग्रेसको जारी केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।