काठमाडौं फागुन, १३–
त्रिभुवन विश्वविद्यालयले फागुनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न नसक्ने बताएको छ ।
फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि त्रिविले निर्धारित समयमा निर्वाचन गर्न नसकिने बताएको हो । फागुनमा निर्वाचन गर्ने तयारी गरिए पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालिएको त्रिविले जनाएको छ । विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो ।
निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने अवस्था आएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । उनले सबै विद्यार्थी सङ्गठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने बताए । उनले कुनै सङ्कायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताए । त्रिविले अहिले सवै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ ।
‘हामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौँ’, उनले भने, ‘परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छौँ ।’ त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त गरी करीब एक हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ । दुई÷दुई वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी सङ्गठनका कारणले पूर्णरूपमा हुन सकेको छैन ।