कांग्रेस केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला पक्षिय नेताहरु सहभागी भएनन्



काठमाडौं फागुन, १४–
प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक कलह गहिरिदै गएको छ । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै आएको नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले मंगलबारको नेकेन्द्रीय कार्यसमिति बैठकमा सहभागीता जनाएको छैनन् ।
केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा छन् । तर, पौडेल, सिटौलासहितका नेताहरु केन्द्रीय कार्यालयमा भएपनि बैठक हलमा गएका छैनन् । उता महामन्त्री शशांक कोइराला भने बैठकमा सहभागी भएका छन् ।
अनुशासन र निर्वाचन समिति अर्ध न्यायिक निकाय भएकाले सहमतिमा र एकै पटक गठन गर्नुपर्ने पौडेल र सटौला पक्षिय नेताहरुको माग रहेको छ ।
अघिल्लो केन्द्रीय कार्यसमितिले महासमितिमा पार्टी सभापति देउवाले गरेको बाचाविपरित बहुमतका आधारमा विधान पास गरेको थियो, जसमा पौडेल र सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ९ : ०१ बजे