काठमाडौं फागुन, १५–
सुदूरपश्चिम पहाडी जिल्लाहरुमा फेरी हिउँ पर्न सुरु भएको छ । हिमपातसँगै चिसो बढेपछि ति जिल्लाहरुको जनजीवन समेत प्रभावित बनेको छ ।
पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो ।
करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो ।
जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ । एक्कासि बढेको चिसोले विशेषगरी वृद्ध–वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।
पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने नहुँने हो कि भन्ने पीर यहाँका किसानमा छ । यो वर्ष डडेल्धुरामा पाँचौपटक हिमपात भएको हो ।