मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खराब मौसम हुँदाहुँदै दबाबपूर्ण उडान गरिएको खुलासा



काठमाडौं फागुन, १६–
खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा राजु बास्कोटाले लेखेका छन् ।

‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन् । मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुन सक्छ’, उनले भने ।

नियामक निकाय, एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ । दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो ।

मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किएर तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर त्यो अल्टिच्युडमा यात्रु बोक्नु र नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर पनि हेर्नुपर्ने मानन्धर बताउँछन् ।

जहाज दुर्घटना जाँच आयोगले दिने हरेक प्रतिवेदनको सुझाव कार्यान्वयनको पाटो पनि अर्को महत्ववपूर्ण पक्ष रहेको उनको भनाइ छ ।

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् । उनले भने, ‘साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’

पाइलटले कसैले दबाब दिँदैमा ज्यानै जाने गरी जोखिम लियो भनेर भन्न नसकिने उनले बताए । उनले भने, ‘एउटै कारणले दुर्घटना हुने होइन । यसअघिका केही दुर्घटनाका प्रतिवेदन कार्यान्वयन भए वा भएनन्, त्यो हेर्नुपर्छ ।’ उनले कमजोरीलाई सुधार गर्दै जानुपर्नेमा त्यस्तो नभएको बताए । ‘नेपालको हवाई उड्डयनको इतिहासमा भएको यो खालको दुर्घटनाको विस्तृत अध्ययन हुनुपर्छ । अहिले नै कसैलाई दोष लगाउनु उपयुक्त हुँदैन’, दलीले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : ४६ बजे