ताप्लेजुङमा रोकिएन हिमपात, शव काठमाडौं ल्याउन मुश्किल



काठमाडौं फागुन, १६–
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव संकलन गरिएको छ।
दुर्घटनास्थलबाट संकलन गरिएको शव ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको छ। सबै शव संकलन गरिएपनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान गर्न नसकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।  उनले हिउँ पर्न छाडेर मौसममा सुधार आएपछि मात्रै शव काठमाडौं पठाईने बताए ।
बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकोप्टर उडाउन नसकिएको उनको भनाइ छ ।

बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहिबार  ६ : २४ बजे