काठमाडौं फागुन, १८–
युवतीलाई ढुंगाले हानेर बेहोस बनाएपछि सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्ष जेल सजाय सुनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
२ मंसिर ०७४ को राति गोदामचौरकी २१ वर्षीया कामकाजी विवाहित युवतीलाई गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरले ढुंगाले हानेर अर्धचेत अवस्थामा बलात्कार गरेका थिए । जिल्ला अदालतले उनीहरूलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी गरी तीन मुद्दामा दोषी ठहर गरी कैद सुनाएको छ ।
शुक्रबार न्यायाधीश धनसिंह महराको इजलासले उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष, बलात्कार मुद्दामा १० वर्ष र चोरी मुद्दामा ६० दिनको कैद सजाय फैसला गरेको छ । ‘यसमध्ये जुन मुद्दामा सबैभन्दा धेरै सजाय भएको छ, त्यही कार्यान्वयन हुन्छ,’ अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले भने, ‘त्यसकारण उनीहरू १०–१० वर्ष जेल बस्नुपर्छ ।’ पीडितलाई जनही १–१ लाख क्षतिपूर्ति दिन पनि फैसला भएको छ ।
यस्तो थियो घटना
२ मंसिर ०७४ युवती कार्यालयबाट बस चढेर गोदामचौरनजिकै बसस्टममा ओर्लिइन् । त्यहाँबाट घरतर्फ जाँदै गर्दा झमक्कै परिसकेको थियो । बाटोछेउमा रहेका युवकहरू लागुऔषधको नसामा थिए । उनीहरू छिमेकी भएकाले युवतीले पनि चिन्थिन् । उनीहरूले एक्कासि जबर्जस्ती गरेपछि युवतीले प्रतिकार गरिन् । त्यही क्रममा ढुंगाले टाउकोमा हानेर बेहोससमेत बनाइदिए ।
घटनाको केही घन्टापछि नै परिवारले छोरी हराएको भन्दै निवेदन दिए । युवतीको मोबाइल अफ थियो । रातभर खोज्दा पनि भेटिइनन् । भोलिपल्ट बिहानै सडकमुनि बारीमा बेहोस अवस्थामा भेटिएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेको थियो, हात पनि भाँचिएको थियो । उनको होस पाँच दिनपछि शिक्षण अस्पतालमा खुलेको थियो । करिब एक महिना अस्पताल बसेकी उनी अहिले पनि शारीरिक रूपमा कमजोर छिन् । दाहिने हातले राम्रोसँग काम गर्दैन । दाहिने आँखा र कानमा पनि समस्या रहेको उनकी आमा बताउँछिन् ।
विवादित थियो प्रहरी अनुसन्धान
यो घटनामा पनि प्रहरीले प्रमाण जोगाउन लापरबाही गरेको आरोप लागेको थियो । घटनास्थलमा युवतीको पर्सबाट पैसासमेत चोरी भएको थियो, उनको मोबाइल फुटाइएको थियो । यो आधारमा फिंगर प्रिन्टलगायत प्रमाण संकलन हुन सक्ने विषयमा प्रहरीले पछि मात्र ध्यान दिएको थियो । उनीमाथि बलात्कार भएकै भनेर मेडिकल रिपोर्ट आउँदासमेत प्रहरीले अभियुक्तका प्रमाणहरू जोगाउन सकेन । जसकारण पीडितको सनाखतबाहेक अन्य प्रमाण जुट्न सकेको थिएन । प्रहरी अनुसन्धान विवादित बन्यो ।
पीडितले तीनैजना अभियुक्तलाई आफूले चिनेको बताएकी थिइन् । होस खुलेलगत्तै छोरीले अभियुक्तको हुलिया प्रहरीलाई जानकारी गराएको आमाले बताउँदै आएकी थिइन् । घटनाका वेला उनीहरूले रघुको नामै लिएको आफूले सुनेको पनि युवतीले बताएकी थिइन् । उनको दाबी पछि विभिन्न अनुसन्धानमा पुष्टि भयो । अभियुक्तले पोलिग्राफ परीक्षणमा समेत ढाँटेको खुलेको थियो ।
पीडित नै गाउँबाट विस्थापित
घटनापछि पीडित युवती र उनको परिवार गोदामचौरबाट विस्थापित भएका छन् । उनी श्रीमान् र ससुरासँग घापासीमा डेरा लिएर बस्दै आएकी छिन् । उनीहरूको गोदामचौरमा सानो घरसमेत थियो । घटनापछि गाउँलेले धम्कीसमेत दिन थालेकाले उनीहरू त्यहाँ बस्न नसकेको पीडित युवतीकी आमा उर्मिलाले बताइन् ।
डिएनए मिलेन, पीडितको सनाखत नै मुख्य प्रमाण
होस खुलेपछि पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको केही दिनमै आरोपीलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीले पर्याप्त प्रमाण नपुगेको भन्दै २६ पुस ०७४ मा उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएका थिए ।
जिल्लाको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले २५ माघ ०७४ मा थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशसँगै उनीहरू भाग्दै आएका थिए । गोदावरीमै लुकेर बस्दै आएको सूचनाका आधारमा गत २६ मंसिरमा उनीहरू पक्राउ परेका थिए । पीडितले नै अभियुक्तहरू चिनेकाले अदालतले पछि त्यसैलाई फैसलाको मुख्य आधार बनायो । डिएनए टेस्ट भने मिलेको थिएन ।
‘होस आउनेबित्तिकै पीडितले तीनजनाको नाम लिएकी थिइन् । स्वयं पीडितले नै अभियुक्तलाई सनाखत गर्नुलाई नै फैसलाको ग्राउन्ड मानिएको छ,’ स्रेस्तेदार तिवारीले भने । पक्राउ परेका अभियुक्तलाई विभिन्न व्यक्तिको बीचमा राखेर प्रहरीले चिन्न भनेको थियो । युवतीले उनीहरू तीनैजनाले आफूमाथि बलात्कार तथा आक्रमण गरेको बताएकी थिइन् ।
युवतीको तीन हजारसमेत चोरी भएकाले त्यसमा पनि उनीहरूलाई दोषी ठहर गरिएको छ । तीन हजार रुपैयाँ दामासाहीका हिसाबले पीडितलाई बुझाउन फैसलामा भनिएको छ ।