काठमाडौं फागुन, २२–
राप्रपाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर सभा आयोजना गरेको छ । राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मंगलबार हेटौँडास्थित राजमार्गमै सभा आयोजना गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
हेटौँडाको मुख्यबजार बुद्धचोकदेखि सीमाचोकसम्मको क्षेत्रमा राजमार्ग अवरुद्ध गरिएको हो । सभाका लागि राजमार्गमै दुइटा ट्रक जोडेर मञ्च बनाइएको थियो । त्यस्तै, प्लास्टिकका कुर्सी पनि राजमार्गमै राखिएका थिए । सभाका लागि बिहान ११ बजेदेखि रामजार्ग अवरुद्ध पारिएको थियो ।
हेटौँडामा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको आवरणमा खुलेआम लुटतन्त्र चलिरहेको आरोप लगाए । ‘राज्यसत्ता कब्जा गरेका नेताहरूले देशलाई खुलेआम लुटिरहेका छन्,’ थापाले भने ।
एनसेलले ४० अर्ब करछली गर्दा कारबाहीको दायरामा ल्याउन नसक्नु, वाइडबडी खरिदमा भ्रष्टाचार हुनु र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त पक्राउ नपर्नुले लुटतन्त्रको प्रस्टता हुने बताए । यस्ता अनियमितामा सरकारले नागरिकलाई झुक्याउन तल्लो तहका कर्मचारीलाई विनाआधार कारबाही गरिरहेको उनको आरोप थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र राष्ट्रवादको नारा दिएको उल्लेख गर्दै अहिले भने उल्टो दिशामा लागेको बताए । उनले सरकारप्रति खबरदारी गर्न आग्रह गरे । उनले राप्रपाले उठाएको माग सम्बोधन नगरे तेस्रो जनआन्दोलन हुने चेतावनी दिए ।
सभालाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ नेता राजेन्द्र लिङ्देनले कमल थापाजस्तो व्यक्तिलाई मकवानपुरका जनताले धेरैपटक जिताउन नसकेको र महत्व नबुझेको जिकिर गरे । प्रधानमन्त्री हुने योग्यता भएको व्यक्तिका रूपमा थापाको चर्चा गर्दै लिङ्देनले भने, ‘मकवानपुरले साँच्चै मन नपराएको भए झापा लगेर जिताएर पठाउँछु ।’