काठमाडौं फागुन, २३–
काठमाडौंस्थित टोखा नगरपालिकाले बैठक भत्ताका नाममा जथाभाबी खर्च लेखेको उल्लेख गर्दै महालेखाले ४६ लाख ८४ रुपैयाँ बेरुजु देखाएको छ ।
महालेखाको लेखापरीक्षणअनुसार नगरपालिकाले एकै दिन ६ वटासम्म बैठक बसेको देखाएर ‘बैठक भत्ता’ वितरण गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, त्यसको कुनै भरपाई छैन । महालेखा प्रतिवेदनअनुसार ३१ असार ०७५ मा नगरपालिकाले ६ वटा बैठक राखेको छ । हरेक बैठकमा छुट्टाछुट्टै भत्ता दिएको उल्लेख छ । त्यसरी भत्ता दिँदा प्रति बैठक ७२ हजारदेखि ६० हजार रुपैयाँसम्म खर्च भएको महानगरको हिसाब छ । तर, कुनै पनि बैठक भत्ता वितरणको भरपाई भने छैन ।
यस्तै, नगरपालिकाले ३२ असार ०७५ मा पदाधिकारीको बैठक बसेको भनी एकै दिन चार लाख ७६ हजार रुपैयाँ बैठकभत्ता शीर्षकमा खर्च देखाएको छ । महालेखा प्रतिवेदनमा भनिएको छ ‘त्यो दिन बैठक बसेको न माइन्युट छ, न भरपाई ।
त्यही दिन थप अर्को तीन बैठक बसेको देखाएको छ । र त्यो बैठकहरूमा क्रमशः ७२ हजार, उक लाख आठ हजार र तीन लाख ३४ हजार भत्ता बाँडेको छ । तर, कुनै पनि बैठक बसेको प्रमाण छैन ।’ यसरी नगरपालिकाले हरेक दिनजस्तो विभिन्न बैठक बसेको देखाउने र लाखौँ खर्च लेख्ने क्रम बढेको महालेखाले औँल्याएको छ ।
पदाधिकारी सुविधामा मात्र ८० लाख
गत वर्ष नगरपालिकाले पदाधिकारी सुविधा शीर्षकमा मात्र ८० लाख ८१ हजार खर्च गरेको छ । यसमा उनीहरूले विभिन्न बैठक शीर्षकमा लिएको भत्ता जोडिएको छैन । यो खर्चमा पदाधिकारीको मासिक पारिश्रमिकलगायत प्रदेश सरकारले तोके अनुसारको सेवा सुविधा पर्छ । तर, उनीहरूले त्यो बाहेक पनि पैसा लिएका छन् ।
इन्धनमा बेथिति
नगरपालिकाले आर्थिक वर्ष ०७४र७५ मा खपत भएका इन्धन खर्चका कुपन, लगबुक र भुक्तानी बिल व्यवस्थित गरी राखेको छैन । अभिलेख नै नराखी ‘इन्धन’ शीर्षकमा खर्च देखाएको हो । भ्रमण खर्च शीर्षकमा पनि नगरपालिकाले विभिन्न व्यक्तिलाई भुक्तानी दिएको छ ।
तर, त्यसका अभिलेख नभएको महालेखाले औँल्याएको छ । यस्तै, नगरपालिकाले मूल्य अभिवृद्धि करमा दर्ता नै नभएका संस्था, कम्पनीबाट सामान खरिद गर्ने गरेको भेटिएको छ । नगरकोष हिनामिनाका क्रममा नगरपालिकाले आवश्यक नै नभएको विषयमा तालिम राखेर नागरिकले तिरेको करको दुरुपयोग गरेको महालेखाको ठहर छ ।
कर संकलनमा पक्षपाती व्यवहार
नगरपालिकाले घरबहाल कर असुलीमा पक्षपाती व्यवहार गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ । महालेखाले गरेको लेखापरीक्षणमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका प्रत्येक घरसँग बहालकर असुल गरेको, तर ठूला हाउजिङ, कोलोनी तथा अस्पतालबाट बहालकर नलिएको भेटिएको हो ।
विपन्न परिवारसँग समेत हरेक शीर्षकमा तोकिएको दरमा कर असुली गरेको नगरपालिकाले ग्रान्डी अस्पताल, ग्रिनसिटी अस्पताल, ईशान हस्पिटल, देउराली जनता फर्मास्युटिकल्स, होराइजन रेसिडेन्सी, हार्मोनी हाउजिङ, ग्रान्डी भिल्ला, कुँवर कोलोनी, शुभ होम्सलगायत ठूला करदाता कम्पनीबाट भने कर असुल गरेको छैन ।
महालेखाले ठूला करदाताबाट समेत कर असुल्न प्रतिवेदनमा भनेको छ । गत आर्थिक वर्ष टोखा नगरपालिकाले करका विभिन्न ११ शीर्षकबाट १६ करोड ४९ लाख संकलन गर्ने लक्ष्य लिएकोमा १३ करोड ७ लाख असुली गरेको थियो ।
पदाधिकारी बैठक भत्तामा थप ४२ लाख
महालेखाका अनुसार टोखा नगरपालिकाका जनप्रतिनिधिहरूले पदाधिकारी बैठक भत्ता शीर्षकमा पनि थप भत्ता लिएका छन् । उक्त शीर्षकमा उनीहरूले गतवर्ष ४२ लाख पाँच हजार खर्च गरेका हुन् ।
यसबाहेक बैठक भत्ता र विभिन्न कार्यक्रमको नाममा उनीहरूले ४६ लाख ८४ हजार खर्च गरेका थिए । त्यो खर्च रकमलाई भने प्रमाण नपुगेको भन्दै महालेखाले बेरुजु लेखेको छ ।
महालेखाले टोखा नगरपालिकाका प्रतिनिधिहरूले बैठक भत्ता शीर्षकमा लिएको ४२ लाख पाँच हजार रुपैयाँलाई अनियमितता भएको उल्लेख गरेको छ । महालेखाका प्रतिवेदनअनुसार उनीहरूले ‘बैठक भत्ता’ शीर्षकमा मंसिर ०७४ मा पाँच लाख ९१ हजार, २ फागुन ०७४ मा दुई लाख ७९ हजार भत्ता लिएका थिए ।
यस्तै, गत १ जेठमा एक लाख ८३ हजार, ३ जेठमा दुई लाख ३३ हजार, ६ जेठमा दुई लाख तीन हजार सात सय, १ असारमा ६ लाख ८२ हजार, र ४ असारमा एक लाख ५५ हजार रुपैयाँ बैठक भत्ता लिएका थिए ।
यस्तै, गत ३ असारमा एकै दिन १४ वटा बैठक बसेको देखाइएको छ । ती बैठक हरेक वडाको फरक–फरक भएको उल्लेख छ । ती बैठकहरूमा प्रतिबैठक चार लाख ७६ हजारदेखि ६० हजारसम्म रुपैयाँ एकै दिन २० लाख १७ हजार खर्च देखाइएको छ ।