फेरि त्रसित बन्दै रोल्पाली



काठमाडौं फागुन, –
तीन दिनयता रोल्पाको जनजीवन त्रसित बनेको छ । विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि त्रसित बनाएको हो ।

बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड गरिएको छ । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा २ झ ३६५२ नं. जिपको सिसा फुटेको छ ।

त्यस्तै, बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमा पनि अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट उनले प्रयोग गर्दै आएको भे १ च २७८५ नं.को बोलेरो जिप पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बिहीबार राति अज्ञात समूहले गराएको आगजनीबाट त्रिवेणी गाउँपालिकाको स्काभेटर क्षतिग्रस्त भएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा पार्किङ गरी राखेको अवस्थामा उक्त स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको हो ।

त्यस्तै, बिहीबार दिउँसो रोकी राखिएको माडी गाउँपालिका–२ घर्तीगाउँको मोटरसाइकलमा आगजनी गरिएको छ । वडाध्यक्ष सुदीप घर्तीले प्रयोग गर्ने उक्त मोटरसाइकल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बिहीबार दिउँसो नै रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै वेवारिसे बम फेला परेको छ । जुगारस्थित गाउँपालिका कार्यालयदेखि ५० मिटर दूरीमा दुई बम फेला परेको हो ।

रातो झोलाभित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त बम फेलापरेकोे थियो । विद्यार्थीले खेल्ने क्रममा उक्त शंकास्पद वस्तु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमै घटनास्थल पुगेका कारण उक्त बमबाट मानवीय तथा भौतिक क्षति हुन पाएन । बेवारिसे अवस्थामा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

रोल्पा सदरमुकाम लिवाङस्थित नेपाली कांग्रस पार्टी कार्यालय नजिक दुई बम रहेको हल्ला फैलियो । प्रहरीले सर्च गर्दा सो ठाउँमा दुई ग्रिनेट बम फेला परेको थियो । नेपाली सेनाको टोलीले बमलाई निष्क्रिय पारेको थियो ।

रोल्पा नगरपालिका नजिकै रहेको नेपाली कांग्रसको जिल्ला पार्टी कार्यालयमा उक्त बम राखिए पनि नगरपालिकालाई लक्षित गरी राखिएको प्रहरीको अनुमान छ । जिल्लामा पछिल्लोपटक घटेका सबै घटना स्थानीय सरकारप्रति लक्षित देखिन्छन् ।

बम कसले कुन उद्देश्य राखेको भन्ने खुल्न सकेको छैन । सबै घटनाका दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अदालतमा मुद्दा दायर गरेकै दिन उक्त घटना घट्नुले यसमा सोही पार्टीले गराएको हुन सक्ने आशङ्का गरिए पनि आधिकारिक पुष्टी भने हुनसकेको छैन ।

माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी पीडा भोगेको रोल्पामा फेरि युद्धको झल्को दिने गरी भएका गतिविधिले सर्वसाधारण चिन्तित देखिन थालेका छन् । वार्ता छलफल र सहमतिका आधारमा यस्ता गतिविधिलाई समयमै रोक्नुपर्ने प्रतिनिधिसभाका पूर्वसांसद लेखनाथ आचार्यको तर्क छ । ‘सशस्त्र गतिविधिलाई नजरअन्दाज गर्नु हुँदैन विगतबाट पाठ सिक्दै समस्याको समाधानतर्फ लाग्नुपर्छ,’ आचार्यले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ३३ बजे