मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विखण्डनको त्रासबाट मुक्ति !



काठमाडौं फागुन, २५–
सेनाको ठम्याइमा मुलुकको समग्र सुरक्षा चुनौती र विखण्डन खतराको पात्र थिए सीके राउत। केपी ओली नेतृत्वको सरकार बनेलगत्तै सेनाले गरेको ब्रिफिङमा पनि यही उल्लेख थियो।

विप्लव माओवादीभन्दा पनि राउतका कारण मुलुकको अखण्डतामा खतरा रहेको प्रतिवेदन सेनाको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको समीक्षामा राउतलाई ‘अराष्ट्रिय’ र विप्लव माओवादीलाई ‘राष्ट्रभित्रको अराजक तत्त्व’को संज्ञा दिइएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

जनताको सुरक्षासँग जोडेर विप्लवलाई हेरियो भने राउतलाई मुलुककै सुरक्षा र अखण्डतासँग जोडेर। मुलुकको अखण्डताको चुनौतीलाई समाधान गरेको सरकार अब भने विप्लवको उपचारतर्फ लाग्नु आवश्यक छ। सेनाले आफ्नो प्रतिवेदनमा लगातार विप्लवले सामाजिक विचलन, जिउधनको सुरक्षामा चुनौती थप्न सक्ने, चन्दा आतंक फैलाउन सक्ने भन्दै समाधानको बाटो खोज्न सरकारलाई सुझाउँदै आएको छ। ‘पहिला अधिकतम प्रयाससाथ राजनीतिक निकास खोज्ने। त्यसमा सहमत नभए कानुनी वा अन्य उपचारमा जाने’, प्रधानमन्त्री ओलीले त्यतिबेला भनेका थिए, ‘अखण्ड, शान्त र समृद्ध मुलुक निर्माणको प्रयासमा सरकार लाग्छ।’

एक दिनअघि अदालतबाट सफाइ पाएका राउतले भोलिपल्ट प्रधानमन्त्रीसहितसँग वार्ता गर्दै मूलधारको राजनीतिमा आउने प्रतिज्ञा गर्नुले राउतलाई मूलधारमा ल्याउन लामो गृहकार्य भएको देखाउँछ। यद्यपि, यो अचानकझैं भएर बाहिर आएको छ। सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले साना समूहलाई मूलधारमा ल्याउने, उनीहरूको माग संविधानतः सम्बोधन गर्न मिल्ने विषयमा सरकारलाई सुझाएको थियो।

वार्ता टोली सक्रिय रहेकै बेला नेपालमा क्रियाशील शक्ति केन्द्रहरूले पनि समाधानको बाटो खोजिदिएको हुन सक्ने विज्ञको अड्कल छ। जसले समाधान खोजिदिएको भए पनि यो मुलुक हितमा रहेको धारणा पनि उनीहरूको छ। राजनीतिमा आउने युवालाई स्वच्छ राजनीति गर्न ‘स्पेस’ दिने तर उग्रवाद र पृथकतावादीलाई नियन्त्रण गरी अघि बढ्ने संकेतका रूपमा पनि शुक्रबारको कदमलाई सुरक्षा क्षेत्रका विज्ञले व्याख्या गरेका छन्।

पूर्वप्रधानसेनापति क्षत्रीले सरकारको यो कदमले आफूलाई चकित पारेको बताए। उनले भने, ‘यति ठूलो थ्रेटलाई वार्तामार्फत सहज अवतरण गराउनु चानचुने कुरा होइन।’ यसलाई ‘ड्रामाटिक मुभ’ भन्न सकिन्छ। सकारात्मक ढंगले समस्याको निकास आएको टिप्पणी गर्दै पूर्वप्रधानसेनापति क्षत्रीले अन्नपूर्णसँग भने, ‘हामीले ठूलो सुरक्षा खतराका रूपमा लिएका थियौं। त्यहीअनुरूपको जानकारी सरकारलाई गराउँदै आएका पनि थियौं। सरकारले वार्ताबाट निकास निकाल्यो। यो धेरै राम्रो र सुझबुझपूर्ण समाधान हो।’

विखण्डनको विषय उठाएर संगठित ढंगले हिँडेको समूहको सुरक्षित अवतरण भएकामा उनले खुसी व्यक्त गरे। वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाका केही समययताका भाषणमा पनि यही विषय उल्लेख छन्। ‘विखण्डनकारी र पृथकतावादीलाई तह लगाउन हामी तयार छांै। उनीहरूलाई मुलुकको अखण्डतामा खेल्ने सानो अवसर पनि दिनु हुँदैन’, थापाले भन्दै आएका थिए। तीन दिनअघि सम्पन्न पृतनापतिहरूको बैठकका पनि यही सुरक्षा थ्रेटको विषय उठेको थियो।

जापान र बेलायतमा उच्च शिक्षा लिएका र अमेरिकी वैज्ञानिक काम गर्ने नासामा जागिरे हुँदैदेखि स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका राउत छुट्टै मधेसको पहलमा थिए। सर्वोच्च अदालतको आदेशपछि बिहीबार रिहा भएका उनले अलग मधेसको अभियान छाडेको घोषणा गर्नुलाई विद्यालय तहका विद्यार्थीलाई हिमाल, पहाड र तराई एकै हो भन्ने सन्देश दिन सफल भएको छ।

सेनाको रिपोर्टमा केही वर्षमा तराई छुट्टै मुलुक हो भन्ने सन्देश जाने गरी विद्यालय तहका विद्यार्थीलाई राउतको समूहले प्रभाव पार्ने प्रयास गरिहेको उल्लेख थियो। उनै राउतले अब अखण्ड नेपालको धारणा सार्वजनिक गरेकाले एउटा समस्या पन्छिएको देखिन्छ। त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय तथा कूटनीतिक मामिला विभागका संयोजक डा।खडक केसीले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण चुनौतीका रूपमा रहेको समूहलाई राजनीति तवरले समाधान गर्नु आफैंमा राम्रो प्रयास रहेको बताए।

सेनाको स्टाफ कलेज, सशस्त्र प्रहरी बलको स्टाफ कलेजमा समेत आबद्ध रहेका उनले भने, ‘जुन खाले नकारात्मक प्रभाव तराईमा दिइँदै आएको थियो, अब त्यस्तो रहँदैन। भर्खर प्रादेशिक संरचनामा गएको मुलुकको राष्ट्र निर्माणमा समस्या पनि पर्न सक्थ्यो। अब त्यो टरेको छ।’

सीके राउतलाई मूलधारमा ल्याउने काम सरकारले गरेको महत्त्वपूर्ण काममध्ये एक हुने उनले बताए। भने, ‘बाह्य शक्तिको प्रभावलाई सरकारले ख्याल गरी अघि बढ्न सक्नुपर्छ। यसमा सरकार चुक्नु हुँदैन।’ पटक–पटक पक्राउ र रिहाको शृंखलामा पछिल्लो पटक उनी २१ असोजमा रौतहटको गौरबाट पक्राउ परेका थिए। मुलुक टुक्र्याउने अभियानमा जुटेका उनको सबै खाले गतिविधिमा नेपालका चारै सुरक्षा निकायले कडा निगरानी गरेका थिए।

छिमेकीका आँखा पनि उनीमाथि नै थियो। तराई अशान्त पार्न दुवै छिमेक चाहँदैनन्। उनको गतिविधिले तराईमा समस्या पर्दै आएको र पश्चिमा प्रभाव परेको जानकारी दुवै छिमेकले सरकारलाई गराउँदै आएका थिए। पूर्वसहायक रथी डा।प्रेमसिंह बस्न्यात पनि सरकारले जुन तवरले यस्तो खतरनाक मुभलाई सहमतिमा ल्यायो यो निकै प्रशंसनीय रहेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले ध्यान दिनुपर्ने अर्को पक्ष भनेको कुन पाटो र के मुभबाट यो निर्णय भएको हो यसलाई ख्याल गर्न जरुरी छ।’

पश्चिमा र छिमेकबीच हामी रहेको मात्र होइन, यसमा पात्रहरूले खेलिरहेको हुन सक्ने धारणा पनि डा।बस्न्यातको छ। सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकास्थित नासामा कम्प्युटर वैज्ञानिकका रूपमा कार्यरत थिए। आठ वर्षअघि नेपाल आएर उनले तराईमा गतिविधि बढाएका हुन्। यो मामिला समाधान भएझैं देखिए पनि कालान्तरमा असजिलो पर्न सक्ने दृष्टिकोणबाट पनि सरकारले अध्ययन गरिरहेको एक मन्त्रीले जानकारी दिए। उनले भने, ‘सबै कोणको अध्ययन गरी सकारात्मक पक्षलाई लिइएको हो।’

उनले आफ्नो आन्दोलनमा प्रविधिको भरपुर उपयोग पनि गरे। उनले मेची–महाकाली यात्रा गरी मधेसलाई नेपालबाट छुट्याएर अलग्गै मुलुक बनाउन अभियान चलाए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालयले पनि यो कदमले मुलुकका लागि सरकारले भित्रभित्रै काम गरिरहेको सन्देश दिएको बताए। उनले भने, ‘अन्य समूहको माग समाधानको पहलमा सरकार लागिरहेको छ। निकास पक्कै निकाल्छ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : २५ बजे