राष्ट्रपतिका लागि १४ करोडको मोटरसाइकल खरिद



काठमाडौं फागुन, २६–
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड)मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।

त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ ।

‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  २ : २९ बजे