काठमाडौं फागुन, २९–
दलित समुदाय होच्याउने उखान प्रयोग गरेर विवादमा तानिएकी नेकपा सांसद कोमल ओलीले संसद बैठकबाटै माफी मागेकी छन् । उनी एक टेलिभिजन कार्यक्रममा आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएकी थिईन् । टेलिभिजन अन्तर्वार्तामा सांसद ओलीले प्रयोग गरेको ‘मरेपछि ‘ राजा’ उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसद उनले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन् । ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन् ।
देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै कसैको मर्यादामा आँच पुर्याउनका लागि उखान प्रयोग नगरिएको पनि सांसद वलीले प्रष्ट्याएकी छन् ।
आफूले पूर्व योजनाअनुसार नभइ तत्कालिन अवस्थामा कुनै विचार नपुर्याई उखान प्रयोग गरेको सांसद वलीको भनाइ छ । ‘मेरो मष्तिश्कमा तत्कालिन समयमा यसले पुर्याउने हानी यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकतामात्र थियो’ उनले भनिन् ।