‘विप्लव’माथिको प्रतिबन्धको विरोधमा सत्तारुढ नेकपाकै नेता



काठमाडौं फागुन, २९–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताले विप्लव समूहमाथिको प्रतिबन्धको विरोध गरेका छन् । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’माथि प्रतिबन्ध लगाउनु सरकारको हतारको कदम भएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तर, पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् ।’

अहिलेको समय र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको नेता पौडेलको भनाइ छ । उनले भने, ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिवेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसलेमात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भने पनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन् ।’

उनले परिस्थ्तििलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे,‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आफैमाथि बज्रपात गर्न सक्छ।

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । पौडेलले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नभएको पनि जिकिर गरे । ‘केही प्रकारका छिटपुट घट्नाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’ उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ९ : २७ बजे