काठमाडौं चैत, १–
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी प्रचण्ड र विप्लवलाई नयाँ विचार अंगाल्न सझाव दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम उत्पन्न भएको दाबी गरेका छन् । उनले दुबैलाई ‘कोर्स करेक्सन’को सुझाव दिएका हुन् । तत्कालीन माओवादी जनयुद्धका वैचारिक तथा सांगठनिक खम्बा समेत मानिएका बाबुरामले आफ्ना दुवै पूर्वकमरेडले गलत बाटोमा हिँडेको उल्लेख गरेका छन् । दुवै नेतालाई नजिकबाट चिनेका बाबुरामको विचारमा दुवैमा देखिएको समस्या व्यक्तिको नभएर विचारको भएको टिप्पणि गरेका छन् उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको हो । उनले लेखेका छन्, ‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो १ यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो !’
दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी पनि बाबुरामले गरेका छन् । ‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ’, अंग्रेजी भनाइ ‘टू रङ डन्ट मेक अ राइट’ स्मरण गराउँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘खाँचो नयाँ विचारको ।’पछिल्लो समय विप्लव समूहले संविधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै सरकारलेप्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । सत्तारुढ नेकपाकै नेता समेत यो विषयमा प्रष्ट दुईधारमा देखिएका छन् ।
१ चैत्र २०७५, शुक्रबार
0
Shares