प्रचण्ड अमेरिका गएपछि पार्टी एकता प्रक्रिया लम्बिने



काठमाडौं चैत, ४–
जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् ।

त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको प्रस्ताव तयार पार्न सघन छलफल गरे पनि एकता प्रक्रिया केही समय लम्बिने भएको छ । अध्यक्ष दाहाल अमेरिकातर्फ लागेपछि एकताले औपचारिकता पाउन समय लाग्ने भएको हो ।

केन्द्रमा एकता भएको नौ महिनासम्म तल्ला तहको एकीकरण हुन सकेको छैन । पार्टी एकताको बाँकी काम पूरा गर्न ढिलाइ भइरहेको भन्दै अध्यक्ष दाहालले आफू फर्केपछि टुंग्याउने जानकारी दिए ।

श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका उड्नुअघि दाहालले एकता र अन्य राजनीतिक विषय टुंग्याउन अझै घनिभूत छलफल आवश्यक रहेको बताए । १० दिनभित्र फर्किने जानकारी उनले दिए ।

पार्टी एकताका लागि प्रस्ताव तयार गर्ने कार्यदलले काम गर्न नसकेपछि सचिवालयले एकता टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार गत साता अध्यक्षद्वयले पटक(पटक छलफल गरेका थिए । जिल्ला तहको नेतृत्व टुंग्याउने गरी प्रत्येक जिल्लाकेन्द्रित छलफल भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  १ : २० बजे