नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीलाई पितृशोक, सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौं चैत, ४–
नेपाल महिला संघको केन्द्रीय अध्यक्ष उमा रेग्मीलाई पितृशोक परेको छ । सांसद एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पूर्व सदस्य समेत रहेकी रेग्मीको ९७ वर्षीय पिता षडानन्द रेग्मीको आइतबार भरतपुर १८ चनौली स्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय रेग्मी नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा सभापति देउवाले रेग्मीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । सभापति देउवाले पार्टीले एक ज्येष्ठ व्यक्तित्वलाई गुमाएको बताएका छन् । सभापति देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विज्ञप्तिमा कांग्रेसले रेग्मीको निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको समेत उल्लेख छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : २५ बजे