मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी सम्भव भयो कांग्रेसमा सहमतिमा अनुशासन समिति



काठमाडौं चैत, ५–
लामो विवादपछि नेपाली कांग्रेसको अनुशासन समिति शीर्ष तहमा सहमति जुटाएरै गठन गरिएको छ । सहमतिअनुसार नेता भीष्मराज आङ्दम्बेलाई समितिको संयोजक बनाइएको छ ।

पछिल्लो समय कांग्रेसभित्र अनुशासन समिति र निर्वाचन समिति गठनका विषयमा नेताहरुबीच विवाद रहँदै आएको थियो । तर, सोमबार अबेर बसेको बैठकमा अनुशासन समितिले गर्ने काम कारबाहीलाई सहमतिबाटै टुंगो लगाउने गरी नेताहरूबीच समिति गठनमा सहमति भएको हो । संयोजक चयन भएका आङ्दम्बे सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

नेता अर्जुननरसिंह केसीले अनुशासन समितिले गर्ने काम कारबाही सहमतिबाटै गर्नेगरी शीर्ष तहमा सहमति भएपछि सर्वसम्मत रूपमा समिति गठन गरिएको जनाए ।

‘अनुशासन समितिले गर्ने काम कारबाही सहमतिबाटै हुनेगरी सर्वसम्मत रूपमा समिति गठन भएको छ, अब बहुमत र अल्पमतका आधारमा समितिले निर्णय गर्न पाउनेछैन,’ नेता केसीले राजधानीसँग भने ।

समितिका सदस्यहरूमा केन्द्रीय सदस्य किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल चयन भएका छन् । उनीहरू सबै देउवा निकट मानिन्छन् । अन्य दुई सदस्यको नाम भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले सभापतिलाई दिनेछन् ।

यसअघि अनुशासन समितिको संयोजकमा देउवानिकटकै नेता रमेश रिजाल थिए । तर, उनले गत निर्वाचनपछि चौतर्फी दबाबका कारण राजीनामा दिएका थिए ।

स्रोतका अनुसार सोमबारको बैठकमा सभापति देउवा पक्षका नेताहरूले नै सभापतिले सहमतिबाट अनुशासन समितिको काम कारबाही गर्ने भनी जनाएको सहमतिप्रति बैठकमा असन्तुष्टि जनाएका थिए । उनीहरूले सो शब्द नराख्न सभापतिलाई सुझाएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचन समिति भने मंगलबारको बैठकले बनाउने र सो समितिसमेत सर्वसम्मत नै हुने उनले जनाए । स्रोतका अनुसार निर्वाचन समितिमा राधेश्याम अधिकारीलाई संयोजक बनाउने तयारी छ ।

सोमबार भएको सहमतिको मोडालिटी भने पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले बनाएका हुन् । उनले अनुशासन समिति सहमतिकै आधारमा बन्नुपर्ने र सहमतिबाटै कामकारबाही गर्नुपर्ने भन्दै हरेकजसो बैठकमा धारणा राख्दै आएका थिए ।

त्यसपछि सिटौलासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू अर्जुननरसिंह केसी बसेर यो सहमतिको मोडालिटी बनाएका थिए ।

संस्थापन पक्षले एकतर्फी रूपमा समिति गठनको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै इतर पक्षले बैठक बहिष्कारको रणनीति बनाएपछि १४ फागुनका लागि बोलाइएको केन्द्रीय समिति स्थगित गरिएको थियो । त्यसयता आइतबार र सोमबार मात्रै दिनभरजसो शीर्ष तहमा सहमतिको प्रयास भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ५२ बजे