भीभीआईपीमाथि विप्लव समूहको सुरक्षा थ्रेट, गृहमन्त्रालयको आग्रहः सार्वजनिक समारोहमा सतर्कता अपनाउनु



काठमाडौं चैत, ७–
नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआईपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

मन्त्रालयले जारी भीभीआईपी र भीआईपीको नाममा जारी गरेको पत्रमा अहिलेको बिसंम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रम बाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको बुझिएको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्चस्रोतले जनाएको छ ।

अहिले राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुलाई कार्यक्रम निमन्त्रणा दिन आउनेहरुलाई सम्बद्ध पक्षले सुरक्षा थे्रट रहेको जानकारी गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा आइरहेका छन् । गृहले उच्च सुरक्षा सतर्कता अपनाउनु भनेको छ’–उपराष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

सुरक्षाको संयन्त्रको विश्लेषण अनुसार पूर्व माओवादीबाट आएका नेता, मन्त्रीहरुलाई थप सुरक्षा थ्रेट रहेको छ । ‘कहींकतै जानैपरे सुरक्षाको चाँजो मिलाउने सक्ने अवस्था, वरपर मानवबस्ती रहेको वा नरहेको स्थितिजस्ता पक्षलाई ख्याल गर्न भनिएको छ’, उपराष्ट्रपतिको सचिवालयका ती अधिकारीले भने– ‘कहींकतै जानुपरे सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने चुनौती सुरक्षा निकायलाई छ ।

सुरक्षाकर्मीको लावालस्कर लगाएर घरिघरी हिँड्ने कुरो पनि आउँदैन । त्यसैले सकभर सभा समारोहमा सहभागी हुने निमन्त्रणालाई पन्छाउँदै आएको छु ।’
प्रतिबन्ध लगाइसकेपछिको दुई तीन महिनाको घटनाक्रमलाई सूक्ष्म विश्लेषणपछि मात्र अहिले गरिएको आग्रहको सम्बन्धमा पुनर्विचार गर्ने गृहको नीति रहेको बुझिएको छ ।

सरकारले चन्द नेतृत्वको नेकपाको गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । दुर्गम भेगका प्रहरी चौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिइएको बुझिएको छ । त्यस्तै, राजधानी र देशका सबैजसो मुख्य शहरमा गस्ती, चेकजाँच र प्रहरी परिचालन बढाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  २ : ०० बजे