पार्टी एकता गर्न भन्दै फोरम र राजापाले कार्यदल बनाए



काठमाडौं चैत, ७–
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पार्टी एकताका लागि पहल थालेका छन् । मधेस केन्द्रीत दुई दलले पार्टी एकताका लागि छलफल गर्न कार्यदल समेत गठन गरिसकेका छन्।

करिब एक महिना पहिले पार्टी एकता गर्न भन्दै फोरमले राजपालाई पत्र पठाएको थियो।

राजपाले बुधबार फोरमलाई एकताका लागि आफूहरू सकरात्मक रहेको जवाफ पठाएको छ। राजपाले एकता प्रक्रियाका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति पनि बनाएको छ।

पहिचान पक्षधर र विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार समिति बनाईएको राजपाले जनाएको छ । यद्यपि, फोरम सरकारमा सहभागी हुँदासम्म पार्टी एकता हुननसक्ने राजपाले जनाएको छ ।

फोरमसँग मात्रै नभएर विचार मिल्ने सबैसँग एकताका लागि तयार रहेको राजपाका नेताहरुले बताउने गरेका छन् ।
फोरमले यसअघि नै सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकताका लागि वार्ता समिति गठन गरिसकेको छ ।

राजपाले आफ्नो पार्टीको प्रस्तावलाई सकरात्मक रूपमा लिएको फोरमका महासचिव रामसहाय प्रसाद यादवको भनाइ छ ।

उनले भने, ‘राजपाले हाम्रो प्रस्तावलाई सकारात्मक भनेर पत्र पठाएको छ। यसले एकता प्रक्रियामा अघि बढ्न सहज बनाएको छ ।’

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ६ : २३ बजे