काभ्रे गोलीकाण्डमा प्रहरीले जवाफी गोली चलाएको भन्नु झुटो वकवास: ‘विप्लव’ नेकपा (विज्ञेप्तिसहित)



काठमाडौं चैत, ७–
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काभ्रे गोलीकाण्डबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई ‘वकवास’ को संज्ञा दिएको छ । आज मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा दोहोरो फायरिङ गरिएको प्रहरीले दाबी गरेको थियो । प्रहरीका अनुसार उक्त घटनाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भएको उल्लेख थियो ।
आज सुदर्शनले जारी गरेको विज्ञप्तिमा ‘निहत्थया, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको वकवास गरिएको’ उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो झुटो वकवासले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

हालको सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ९ : ४२ बजे