सर्लाही चैत, ११–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व सुधार भए मात्रै पार्टी सुधार हुने बताएका छन् । सोमबार नेपाल महिला सङ्घ सर्लाहीले ईश्वरपुरमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि नै सुधार गर्नुपर्ने बताएका हुन् । पार्टी भित्र नेतृत्वमा सुधार र एकता भए मात्रै पार्टी बलियो हुने प्रष्ट पारे ।
न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कन हुनुपर्ने बताउँदै सबैसँग निष्पक्ष व्यवहार हुनुपर्ने पौडेलको भनाइ थियो । उनले भने, ‘नेतृत्वले जे भन्यो त्यही कुरालाई आँखा चिम्लिएर स्वीकार गर्नुपर्ने अन्यायपूर्ण अवस्था रहे न त पार्टी एकता हुन सक्छ न त सुधार ।’
फरक प्रसंग उल्लेख गर्दै नेता पौडेलले वर्तमान कम्युनिष्ट सरकारलाई पक्षपाती भएको आरोप लगाए । सरकारले नागरिकको अधिकार, बजेट बाँडफाँड र विकास निर्माणमा पक्षपात गरेको उनको आरोप थियो । नेता पौडेलले गत माघ २९ गते सञ्चारकर्मी सोम दियाली माथि आक्रमणको भर्त्सना गर्दै लामो समयसम्म पनि सरकारले घटनामा संलग्नलाई संरक्षण गरेको भन्दै आक्रोश समेत पोखे ।