जनकपुर चैत, १५–
प्रदेश २ सरकारले लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार रहेको बताएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको आरोप लगाएका छन् ।
उनले भने, ‘संघीयतालाई नरुचाउनेहरुले षड्यन्त्र गरेका हुन् । शिक्षाप्रति रुची बढ्दै गएको अवस्थामा प्रदेशलाई बद्नाम गराउने प्रयास भइरहेको छ ।’
त्यस्तै, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको दाबी गरेका छन् । उनले संघीय सरकारका शिक्षा मन्त्रीको राजीनामा समेत मागेका छन् । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएको उनको भनाइ छ । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।
लगातार परीक्षा रद्द हुँदा विद्यार्थीलाई तनाव हुनुका साथै आर्थिक भार पर्ने भन्दै चिन्ता व्यक्त गरे । सीआईबीले प्रश्न पत्र बाहिरिएको सम्बन्धमा अनुसन्धान गरिहेको उनको भनाइ छ ।










