काठमाडौं चैत, २६–
मंगलबार विहानबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशका पूर्वी र मध्य भागका केहि स्थानमा र पश्चिमका १÷२ स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै गरी पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ। हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ । मंगलबार उपत्यकासहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको उनले बताए ।
आज केहिछिन मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्ने उनको अनुमान रहेको छ ।
पूर्वी तराईमा हुरीबतास पनि चल्ने सम्भावना रहेकाले सुरक्षित र सावधानी अपनाउन मौसमविद्को आग्रह छ