सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व हो, प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैनः सञ्चारमन्त्री बास्कोटा



काठमाडौं चैत, २८–
सरकारले बालुवाटारस्थित प्रधानमन्त्रीको निवास रहेको जग्गा किनबेच नभएको जनाएको छ । सरकारका प्रवत्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको प्रष्ट पारेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको नभएको भन्दै जोडिएको ललिता निवासको कुरा मात्रै भएको बताए ।
उनले भने, ‘सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व हो, यसबारे थप छानविन गरी दोषीलाई कारबाही हुन्छ । उनले यसमा सत्ता र प्रतिपक्षको प्रश्न नहुने भन्दै कोही पनि नउम्किने दाबी समेत गरे ।

अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने उनले बताए ।

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएकोबारे पत्रकारको जिज्ञासामा प्रवक्ता बास्कोटाले नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसकेको बताए । उनले भने, ‘उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ ।’
उनले अगाडि भने, ‘उहाँले त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुने उनले बताए ।

प्रकाशित मिति : चैत्र २८, २०७५ बिहिबार  ८ : ५३ बजे