कम्युनिष्ट अधिनायकवादसँग लड्न कांग्रेस एक ढिक्का हुन जरुरी : कांग्रेस महामन्त्री कोइराला



बनेपा वैशाख, १–
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वर्तमान ओली सरकार जनताका आबश्यकता भन्दा पनि ठुला सपना बाँड्नैमा व्यस्त भएको आरोप लगाएका छन् । आइतबार कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउने भन्दा सार्वजनिक यातायातलाई सहज र सबैको पहुँचमा पुर्याउने आबश्यकता रहेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन् । प्रधानमन्त्री रेल र पानीजहाजको सपना बाँडिरहनुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीलाई गफले होइन कामले जनताको मन जित्न समेत सुझाव दिए ।
प्रधानमन्त्री खड्गप्रसाद ओली जनताका आवश्यकता पूरा गर्नेभन्दा आफू कसरी शक्तिशाली बन्न सकिन्छ भन्ने बाटोमा लागेको महामन्त्री कोइरालाको आरोप थियो ।

‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजीरहेका छन्’, उनले भने, ‘प्रधानमन्त्री ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।’ उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताए ।

‘यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न सकिदैन’, उनले भने । उनले एकातिर सरकार यस्तो हालतमा अर्कोतिर कांग्रेसले शक्ति आर्जन गर्न ढिलो गर्नुले जनता मारमा परिरहेको बताए । उनले कांग्रेस शक्तिशाली बन्न पहिले आफू भित्र एकताको जरुरी रहेको भन्दै आफू निरन्तर कांग्रेस एक बनाउन लागिरहेको प्रष्ट पारे ।
डा.कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा लागेको भन्दै अधिनायकवादी शक्तिसँग लड्न कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए । उनले कांग्रेस एक भएमा कुनै पनि शक्तिको केही नलाग्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ०३ बजे