काठमाडौं ।
नेपाल आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको छ्नोटमा पर्ने सम्भाबना बढेर गएको छ । मलेसियामा जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको जित हात पारेसंगै नेपालको सम्भाबना बढेर गएको हो । आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट चराणको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको छ।
मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे। आसिफ शेख २६ रनमा आउट भएपछि मैदान छिरेका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गर्दा नेपालले लक्ष्य पार गरेको थियो। नेपालका लागि पवन सर्राफले १४ बलमा १९ रन जोडे।
त्यसअघि मलेसिया ३३.५ ओभरमा ९२ रनमा अलआउट भयो। मलेसियाका लागि लेजाट ड्यानियलले ३७ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका कुशल मल्ल र पवन सर्राफले ३–३ विकेट लिए। कमलसिंह ऐरीले २ विकेट आफ्नो नाममा लेखाए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल युएईसँग डिएल मेथड १ रनले पराजित भएको थियो।
अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमानसँग र बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
अंक तालिकामा युएई लगातार ३ जितसहित शीर्ष स्थानमा छ। नेपाल दुई जित निकालेर दोस्रो स्थानमा छ।
प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। नेपाललाइ पनि कृकेटमा विश्वकप खेल्ने सम्भाबित देशको रुपमा लिन थालिएको छ ।










