गण्तन्त्र नेपालः पूर्वराजालाई ९६ प्रहरीको पहरा, प्रथम पूर्वराष्ट्रपतिलाई भने ३० सुरक्षाकर्मी !



काठमाडौं वैशाख, ११–
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।

यता पूर्वराष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरू बताउँछन् । सुरक्षा संवेदनशीलताका आधारमा पनि पूर्वराजालाई २०–२५ जना प्रहरी पर्याप्त हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

पूर्वराजाको सुरक्षाका नाममा राष्ट्रसेवक सुरक्षाकर्मीलाई अनावश्यक रूपमा खटाइएको भन्दै संसद्को सुशासन समितिले संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

तर, तीन वर्षसम्म सो निर्देशन कार्यान्वयन भएको छैन । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा धेरै सुरक्षाकर्मी खटाउनु अनावश्यक भएको गृह मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

०६५ मा गणतन्त्र घोषणालगत्तै सरकारले सुरक्षा मूल्यांकनका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो । हालसम्म पुनरावलोकन भएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट सुरक्षा कार्यविधिअनुसार नै पूर्वराजालाई सरकारले सुरक्षाकर्मी खटाएको बताउँछन् ।

‘कार्यविधिअनुसार विभिन्न समयमा मन्त्रिपरिषद्बाट निर्णय भएर आवश्यकताअनुसार नै पूर्वराजालाई सुरक्षाकर्मी खटाइएको हो,’ प्रवक्ता सुवेदीले बताए । गृहले हालै नयाँ कार्यविधि मन्त्रिपरिषद्मा पेस गरेको छ । जसमा पूर्वराजालाई खटाइएको सुरक्षाकर्मी घट्ने सम्भावना रहेको एक अधिकारीले बताए ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  १ : ५७ बजे