मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरी निर्माणः मेयर शाक्यले जलपानमा मात्रै सके एक करोड १३ लाख



काठमाडौं वैशाख, ११–
रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वर्ल्डवाइडरकँडेलरके एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

काम सुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो । जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औँल्याएको छ ।

काठमाडौं महानगरपालिकाले फजुल खर्चमा रेकर्ड नै कायम गरेको छ । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनअनुसार कामपाले ०७४र७५ मा सुविधाको क्षेत्रमा तोकिएको बजेटभन्दा १६१ प्रतिशतसम्म बढी खर्च गरेको छ । जलपानमा मात्रै करिब एक करोड १३ लाख खर्च गरेको छ ।

पदाधिकारी र कर्मचारीको सुविधामा बजेटको सीमा नाघेर खर्च गरिरहँदा महानगरले जनसरोकार र पूर्वाधार विकासमा भने अत्यन्तै न्यून बजेट मात्र खर्च गरेको छ ।

ढल निकास शीर्षकमा १५ करोड विनियोजन गरेकोमा ९१ लाख अर्थात् ६ प्रतिशत मात्रै खर्च गरेको छ । सडक तथा फुटपाथमा विनियोजित बजेटको १० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरले उक्त शीर्षकमा एक अर्ब २४ करोड विनियोजन गरे पनि १३ करोड ८४ लाख मात्रै खर्च गरेको छ ।

कानुनविपरीत भत्ता लिएको भन्दै महालेखाले कामपामाथि प्रश्न उठाएको छ । दुई दिनको बैठकभत्ता ६ लाखसम्म लिएको महालेखाले जनाएको छ । ३० र ३१ असार ०७४ मा बसेको नगरसभा बैठकमा ६ लाख भत्ता वितरण गरिएको हो । बैठकभत्ताबापत तीन लाख ६० हजार र परिवहन भत्ताबापत दुई लाख ४० हजार वितरण गरिएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा न्यायिक समिति वा अन्य समितिको बैठकमा भाग लिएबापत भत्ता दिने व्यवस्था छ ।

तर, कार्यपालिका पदाधिकारी बैठकमा भाग लिएबापत महानगरका पदाधिकारी तथा कर्मचारीले कानुनविपरीत भत्ता लिएको महालेखाको ठहर छ । उसले बैठक र परिवहनसमेतको भत्ताबापत आव ०७४/७५ मा खर्च गरिएको ४० लाख १२ हजारमा प्रश्न उठाएको छ ।

कामपाले जोखिमबापत भन्दै विभिन्न कर्मचारीलाई प्रोत्साहन र विविध शीर्षकमा भत्ता दिएको छ । यस्तो भत्ता फोहोरमैलामा काम गर्ने कर्मचारी र जनस्वास्थ्यका कर्मचारीलाई दिइनु स्वाभाविक मानिन्छ ।

तर, मेयर–उपमेयरको सचिवालयका कर्मचारीले पनि पाएका छन् । उनीहरूलाई दुई महिनाको तलबबराबरको रकम दिइएको छ । त्यसबापत ८० लाख ४३ हजार भुक्तानी गरिएको छ । तर, भत्ता दिइएका कर्मचारीले अतिरिक्त काम गरेको कुनै प्रमाण छैन ।

महालेखाले भत्ताका अनेकौँ विकृति प्रतिवेदनमा उल्लेख गरेको छ । आव ०७५र७६ को बजेट, योजना तथा कार्यक्रमका सम्बन्धमा महानगरमा विभिन्न समयमा बैठक बस्यो । त्यस्तो बैठकमा कार्यालयका कर्मचारी मात्र सहभागी थिए ।

कार्यालयका कर्मचारी मात्र बसेको बैठकमा भत्ता दिने कानुनी आधार छैन । तर, महानगरले त्यस्तो बैठकभत्तामा परिवहनबापत दुई हजारसहित दुई लाख ६० हजार पाँच सय रुपैयाँ वितरण गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ११ बजे