बेल्ट एण्ड रोड फोरममा भाग लिन राष्ट्रपति भण्डारी चीन प्रस्थान



काठमाडौं वैशाख, ११–
बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको उक्त फोरममा भाग लिन बुधबार राष्ट्रपति भण्डारी बेइजिङ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी हुन् ।

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई विदाइ गरेका थिए । उक्त अवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  ६ : ०१ बजे