बारा र पर्साको घटनाले मर्माहत बनायो, घाइतेको उपचार र राहात तत्काल उपलब्ध गराउः कांग्रेस नेता रामचन्द्र पौडेल



काठमाडौं चैत, १८–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति दुःख व्यक्त गरेका छन् । नेता पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै पीडितहरुलाई तत्काल प्रदान गर्न सरकारसँग माग समेत गरेका छन् । उनले बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् । उनले भनेका छन्, ‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’ कांग्रेसका वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपील गरेका छन् । ‘यो विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्छ’, उनले भनेका छन्, ‘बिरामीहरूको उपचारमा रगतको अभाव भएको छ । अस्पतालमा पुगेर रक्तदान गर्न पनि मेरो आग्रह छ ।’ वरिष्ठ नेता पौडेलले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यावाद पनि दिएका छन् ।

आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा ३२ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार  २ : २२ बजे