कांग्रेस सभापति देउवाले दिए देश तथा विदेशमा रहेका सम्पूर्ण मजदुरलाई शुभकामना



काठमाडौं वैशाख, १८–
मजदुर दिवसको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार १३० औं मजदुर दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै देउवाले शुभकामना व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुभकामना सन्देशमा विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गरेका छन् ।

उनले लेखेका छन्, ‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । ’ सभापति देउवाले कांग्रेस नेतृत्वको मजदुर आन्दोलनको प्रशंसा समेत गरेका छन् ।

२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको स्मरण पनि देउवाले आफ्नो शुभकामना सन्देशमा गराएका छन् ।

नेपाली श्रमिक अझै पनि अनेक समस्यामा रहेकाले उनीहरुको हक, हित सुरक्षाका लागि कांग्रेसले साथ दिने प्रतिबद्धता देउवाले जनाएका छन् ।

प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार  ५ : ५६ बजे