काठमाडौं वैशाख, १९–
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टीबीच एकता हुने लगभग निश्चित जस्तै भएको छ । दुबै पार्टीका नेताहरुले एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।
आउँदो २३ गते पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता गर्नेगरि तयारी अघि बढेको हो ।
दुई दलको वार्ता समिति स्तरमा टुंगिएको छ भने दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुने स्रोतले बताएको छ ।
संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरेको छ । जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक नेताले बताए ।
अघिल्लो पटक अन्तिम चरणमा आएर यी दुई पार्टी एकता प्रक्रिया भाँडिएको थियो । फोरमले राजपासँग पनि पार्टी एकताको प्रक्रियालाई अघि बढाईरहेकोमा राजपासँग नगरेर नयाँ शक्तिसँग एकता गर्न लागेको हो । यो निर्णयले राजपालाई फोरमको तर्फबाट धोका भएको छ ।