प्रधानमन्त्रीमाथि कांग्रेस नेता गगन थापाको प्रहारः सरकारी नारा ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्नुस



काठमाडौं वैशाख, २३–
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा परिवर्तन गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता समेत रहेका थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’ सट्टा ‘समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा उक्त कुरा बताएका हुन् । सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको सांसद थापाको भनाइ छ । महत्वाकांक्षाविहीन, अभिलाशा शून्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको सांसद थापाको भनाइ थियो ।

उनले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रसंम्सामा मात्रै अल्झिएको टिप्पणी गरे ।

सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि उनले गम्भिर आपत्ति जनाए ।

प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार  १० : १९ बजे