पोखरा-
पोखरामा आइतबारबाट नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डको सहकार्यमा ६ देशका सैनिकहरु विपद् व्यवस्थापन सम्बन्धी सैन्य अभ्यासमा जुटेका छन ।
उक्त सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, बंगलादेश र क्यानडाको सहभागिता छ। नेपाली सेनासहित नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी लगायत अभ्यासमा सहभागी रहेका छन ।जेठ १२ गतेसम्म चल्ने अभ्यासमा २२० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले जनाएका छन ।
यो खालको सैनिक अभ्यास नियमित हुने गरेको छ ।यस अघि नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमान्डको सहकार्य मा यस्तै सैनिक अभ्यास सन् २०११, १३, १५ र १८ मा काठमाडौंमा सम्पन्न भइ सकेको छ ।