मालपोतका कर्मचारीको दलालसँग घुसको यस्तो सेटिङ



काठमाडौं जेठ, ७–
तीन महिनाअघि धनुषाका सीडीओ प्रदीपराज कणेलले मालपोत कार्यालयमै पुगेर कर्मचारीलाई भ्रष्टाचार नगर्ने कसम खुवाए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

घुसखोरीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भन्दै कणेलको कदमको सर्वत्र प्रशंसा भयो । ‘अब मालपोत कार्यालय जनकपुर सुध्रिन्छ,’ धेरैले सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेखे, ‘वाह १ सीडीओ साप्, धन्यवाद !’

तर, आइतबार मालपोत कार्यालय पुग्दा अवस्था भिन्न देखियो । कर्मचारी हाकाहाकी घुस मागिरहेका थिए । सेवाग्राही ४० डिग्री तातो घाममा लाममा थिए । बिचौलियाको हालिमुहाली थियो । कार्यालय अव्यवस्थित थियो ।

कार्यालयमा सीसी क्यामरा जडान भएपछि कर्मचारीले दलालमार्फत घुस खाने सेटिङ मिलाएका छन् । मालपोत कार्यालय दक्षिणतर्फ बिचौलियाको भीड थियो । उनीहरू सेवाग्राहीसँग लेनदेनका कुरा गरिरहेका थिए । सीडीओ कार्यालय मालपोत कार्यालयबाट सय मिटर दुरीमा छ ।

लेनदेनको कुरा मिलेपछि बिचौलिया आफैं कार्यालयभित्र गएर काम गरिरहेका थिए । पूर्वकर्मचारी तृपित झा तामेली फाँटमा कर्मचारीको कुर्सीमा बसेर मोलमोलाइ गरिरहेका भेटिए ।

उनी मालपोत कार्यालय जनकपुरका पूर्वखरिदार हुन् । उनी कार्यालयको कुर्सीमै बसेर कर्मचारी भेषमा दलाली गर्छन् । कर्मचारीसँग सेटिङ मिलाउँछन् । कुर्सीमा बसेको फोटो खिचेपछि उनले कताकता फोन गरे ।

पाँच वर्षअघि उनले घुस लिएको भिडियो भाइरल भएको थियो । झाले दर्जनौं मानिसलाई अन्नपूर्ण टोलीसँग फोन गराएर समाचार रोक्न प्रयास गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  १ : ५२ बजे