भक्तपुर जेठ, १०–
कांग्रेस नेता प्रदीप पौडेलले प्रदेश र स्थानीय सरकारलाई संविधान विपरित केन्द्रीय सरकारको इकाइ हो भन्नु गलत भएको बताएका छन् । शुक्रबार रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोलदै नेता पौडेलले विगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै विगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता नभएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विफल पार्न सक्रिय भएर लागेको आरोप समेत लगाए ।
सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघीयता र लोकतन्त्र माथि नै खतरा देखा परेको उनले बताए ।
लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन गलत रहेको भन्दै उनले सरकार पञ्चायतकै शैलीमा जान खोजेको आरोप लगाए ।
नेकपा नेतृत्वको सरकारले चुनावमा घोषणा गरेको घोषणपत्रको धज्जी आफैँले उडाइरहेको दाबी गरे ।
प्रधानमन्त्रीको भाषण र व्यवहारमा कुनै तालमेल नभएकाले र हालसम्म कुनै विकासका गतिबिधि हुन नसकेको बताए ।
अर्थमन्त्रीले राजस्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको विषय भएको उनको तर्क छ ।
प्रजातान्त्रिक पार्टीमा बिचारको गुट सामान्य रहेता पनि काँग्रेसका पार्टी सभापति नै आफै अस्वस्थ गुट निर्माणमा लाग्नु भएकै कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको उनले प्रष्टाए ।
कांग्रेसका युवा नेता समेत रहेका पौडेलले वर्तमान सरकारले आफ्ना गलत कार्यको ढाकछोप गर्न कांग्रेसले राजा फिर्ता ल्याउन चाहेको र संघीयतालाई फेल पार्न लागेको आरोपलाई जनता समक्ष स्पष्ट पार्न समेत जनजागरण अभियान चलाएको बताए ।