कम्युनिष्ट सरकारले बजेट जनमुखी होईन कार्यकर्तामुखी बनाउँदैछः कांग्रेस वरिष्ठ नेता पौडेल



बैतडी जेठ, ११–
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । बैतडीको मेलौलीमा शुक्रबार ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताए ।

‘दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन’, उनले भने, ‘सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।’ दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको आरोप थियो ।

उनले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गरे । काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने वरिष्ठ नेता पौडेलले बताए । अहिले सरकारले कार्यकर्तामुखी बजेट बनाइरहेको उनको भनाइ थियो ।

जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सांसद रामबहादर विष्ट, प्रदेशसभा सदस्य भरत खड्का, महासमिति सदस्यद्वय चतुरबहादुर चन्द र कमल शाह, पूर्वमन्त्री नरबहादुर चन्द, बैतडी पूर्व पार्टी सभापति नरेन्द्र थापालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार  २ : ३८ बजे