मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीमा फेरी अर्को काण्ड सार्वजनिक, काठमाडौंमा बिछ्याइएको ३० किलोमिटर पाइप फुटे



काठमाडौं जेठ, २४–
काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् ।

मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए ।

‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन्,’ खत्रीले भने, ‘निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन् । करिब १६ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । अब पुनः बिछ्याउँदा उत्ति नै खर्च हुन्छ ।’ मुख्य पाइपबाट घर–घरमा लैजान जोडिएका पाइपमा धेरै क्षति पुगेको उनले बताए ।

आयोजनाले उपत्यकामा ०७० देखि पाइप बिछ्याउँदै आएको छ । अहिलेसम्म एक हजार दुई सय किलोमिटर पाइप बिछ्याएकोमा अब तीन सय किलोमिटर बाँकी छ । हाल ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  १ : ४१ बजे