कावासोती जेठ, २५– कांग्रेस महामन्त्री डा. शसांक कोईरालाले सरकारको बजेटलाई हावादारीको संज्ञा दिएका छन् । शनिबार नवलपुरको सदरमुकाम कावासोतिमा जागरण अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीयता विरोधी भएको समेत टिप्पणी गरेका हुन् ।
महामन्त्री कोइरालाले सरकारले ल्याएको १५ खर्ब बढीको बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको भन्दै यसलाई हावादारीको संज्ञा दिएका हुन् । उनले भने, ‘न यो बजेट कार्यान्वयन हुन्छ न यो देश सम्वृद्वितर्फ जान्छ , यी सबै हावादारी हुन ।’
प्रदेश र स्थानीय तहको मर्म विपरित बजेट ल्याएर सरकारले केन्द्रिकृत शासन चलाउन खोजेको उनको आरोप थियो । सरकारले सपना बाँडेर राजनीतिक लाभ लिने गरी बजेट ल्याएको महामन्त्री कोइरालाले दावी गरे ।
विभिन्न सपना बाँडेर सत्तामा आएको कम्युनिष्टले त्यो सपना पुरा गर्नुको साटो जनतालाई झन भन्दा झन बढी ऋणको भारी बोकाएको कोईरालाको कथन थियो ।
सरकारले सरकार भ्रष्टाचारको चंगुलमा फसेको भन्दै महामन्त्री कोईरालाले काँग्रेस अब चुप लागेर नबस्ने सरकारलाई चेतावनी दिए । उनले भने, ‘अब हामी मुकदर्शक भएर बस्नेवाला छैनौँ, विरोध मात्रै हैन सदन र सडकबाटै संघर्ष गर्न तयार छौ’ ।
महामन्त्री डा. कोईरालाले नेपाली काँग्रेसको विचार धनि भएको बताए । काँग्रेस नैतिकवान चरित्र भएको पार्टी भएको भन्दै महामन्त्री बोइरालाले महामानव विपि कोईरालाको विचार लिएर अघि बढ्न सबैलाई सुझाव समेत दिए ।