काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम जनताको जनवाद नै भएको बताएका छन् ।
सोमबारपार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच जनताको जनवादका विषयमा सहमति भएको समेत ठकोवा गरे ।
उनले पार्टी एकता सिद्धान्तहीन ढंगले नगरेको दावी गर्दै माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको दावी गरे ।
उनले महाधिवेशनसम्म यही कार्यक्रम लिएर जाने र महाधिवेशनबाट पार्टीको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने बताए । उनले तत्कालिन एमाले र माओवादीले लिएका कार्यक्रमको मूल्यांकन गर्दै परिमार्जनसहित नयाँ कार्यक्रम बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
एकताका क्रममा भएका सहमतिलाई इमान्दारितापूर्वक पालना गर्दै एकताका बाँकी काम सम्पन्न गर्दै महाधिवेशनमा जानुपर्ने उनको तर्क थियो।
अध्यक्ष प्रचण्डको अभिव्यक्तिले नेकपाका अर्का नेता ईश्वर पोखरेललाई झड्का लाग्ने देखिन्छ ।
सचिवालय सदस्य ईश्वर पोखरेलले एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दवी गर्दै आएका छन् ।
उनले एकतापछि पूर्वएमालेले लिएको कार्यक्रममा कुनै भिन्नता नआएको भन्दै बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम भएको ब दाबी गर्दै आएका छन् ।








