काठ्माण्डौ-
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक कुनै निर्णय बिनानै अनिष्चितकालका लागी स्थगित भएको छ ।
जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्ने र राजनीतिक दस्तावेजको बारेमा छलफल हुने भनिए पनि प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बसेको बैठक एजेन्डामा प्रवेश नै नगरि स्थगित भएको बैठकमा उपस्थित एक नेताले बताए ।
आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो ।
बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय नभएको बताइएको छ ।
पार्टी एकता भए पनि सचिवालयले संगठनको एकताको काम भने टुंग्याउन सकेको छैन। जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयको विवाद पछिल्लो समय झन बढ्दै गइरहेको छ
माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नेताहरु दोहोरो जिम्मेवारी दिने पक्षमा छन्।








