बर्दिया असार, १५–
बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
२५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झाले बताए । परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएको उनले बताए ।
नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ ।
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो । डा। झाका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ । पछिल्लो अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ ।
एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा यसको परीक्षण गरिएको थियो । सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषद्ले एक हप्ताभित्र रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
सहनै नसक्ने गरी शरीरका अंग दुख्नु, कलेजो ठूलो हुनु, रगतको कोषिका जहाँ छ त्यहीँ रोग लाग्नु, वाकवाक लाग्नु, जन्डिस हुनु, अत्यधिक ज्वरो र झाडापखाला हुनु, पक्षघात हुनु, मुटुको समस्या र रक्तअल्पता ।