३३ किलो सुन प्रकरणः उच्च अदालतका न्यायाधीश पदमुक्त



काठमाडौं–३३ किलो सुन प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह पदमुक्त भएका छन् । सोमबार साँझ बसेको न्याय परिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । न्याय परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा बसेको बैठकले उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय समेत गरेको छ । उनीहरुको कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएपछि दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो ।

यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । सुन तस्करीको अभियोगमा मुद्दा खेपेका आरोपितलाई न्यून धरौटीमा छुटेको आरोप लागेपछि छानबिनमा रहेको अर्का न्यायाधीश सापकोटालाई भने परिषद्ले सचेत गराउँदै पत्र काटेको थियो ।
यसअघि न्यायपरिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ न्यायाधीशलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : असार १७, २०७६ मंगलबार  ६ : २५ बजे