काठमाडौं– सरकारको कामकारबाहीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गर्ने काम बढिरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । मंगलबार पूर्वसांसद मञ्च नेपालको १९ औं साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको आरोप लगाए ।
उनले भने, ‘न्युनतम पूर्वाधारविना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको हो ।’
नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने नेता नेपालको तर्क थियो । कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुने भन्दै नेता नेपालले व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुनेमा जोड दिए ।